काठमाडौं — रिक्त रहेको राष्ट्रियसभा सदस्यको माघ १२ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालन गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । आयोगले कोभिड–१९ महामारीको सङ्क्रमण बढ्दै गएको भन्र्द विद्यमान अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड लागू गरेको जनाएको छ ।

आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदानमा सहभागी हुने कर्मचारी, उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवक लगायतसरोकारवालाले मापदण्डको पालना गर्नुपर्ने उल्लेख गरेको छ ।

आयोगको निर्देशनअनुसार मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाण देखाउनु पर्ने र अनिवार्य रुपमा मास्क पनि लगाउनु पर्ने भनेको छ । मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्य रूपमा साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था समेत गर्न आयोगले निर्देशन दिएको छ ।

यस्तै मतदान स्थलमा तापक्रम मापन गर्ने थर्मल गन र आवश्यक स्वास्थ्य सामग्री सहित दुई जना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्कको व्यवस्था गर्न पनि आयोगको निर्देशन छ । भौतिक दूरी कायम गर्न, अनावश्यक भिडभाड हुन नदिन, मतदान स्थलमा अनिवार्य रूपमा आवश्यक उपकरण सहितको एक एम्बुलेन्सको व्यवस्था गर्न समेत निर्वाचन आयोगले निर्देशन दिएको छ । कोरोना भाइरसबाट सङक्रमित कुनै मतदाता भए सङ्मित मतदातालाई छुट्टै लाइनको व्यवस्था गर्नु पर्ने आयोगले भनेकोे छ ।