फाइल तस्वीर
काठमाडौं – पाँच दलीय सत्ता गठबन्धन दलको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह चार बजेका लागि तय भएको उक्त बैठक सहभागी हुने नेतामा कोरोना भाइरसको सङ्क्रमण देखिएकाले बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


पाँच दलीय गठबन्धनको बैठक सङ्घीय र स्थानीय तहको निर्वाचनको विषयमा छलफल गरी समान धारणा बनाउने र निर्वाचनको मिति समेत तोक्न छलफल हुने बताइएको थियो । संविधानिक व्यवस्थाअनुसार स्थानीय तहको चुनाव आगामी जेठ ५ गतेसम्ममा गरिसक्नु पर्ने भए पनि सत्ता घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बैशाखमा सङ्घीय संसदको निर्वाचन गरेर स्थानीय तहको निर्वाचनमा जान उपयुक्त हुने भन्दै प्रस्ताव अघि सार्नुभएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन कात्तिक या मंसिरमा गर्ने गरी सङ्घीय संसद्को निर्वाचन बैशाखमा गर्न सकिने तर्क मङ्गलबार बसेको सत्ता गठबन्धन दलको बैठकमा प्रस्ताव राख्नु भएको थियो । प्रचण्डको उक्त प्रस्ताव प्रति नेपाली काङ्ग्रेस र नेकपा एकीकृत समाजवादीले धारणा बनाइनसकेको हुँदा आजको बैठक स्थगित भएको बताइन्छ ।

यता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने सङघीय, प्रदेश र स्थानीय गरी तीनै तहको निर्वाचन एकैपटक गर्न उपयुक्त हुने धारणा राख्दै आउनु भएको छ । पटक पटक निर्वाचन गर्दा देशले आर्थिक भार थेग्न नसक्ने हुँदा तीनै तहको निर्वाचन एकै साथ गर्नु उपयुक्त हुने तर्क अध्यक्ष नेपालको तर्क छ । त्यसोत माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि उक्त धारणामा सहमत भएता पनि पहिले सङ्रघीय र त्यसपछि स्थानीय निर्वाचन गराउन उपयुक्त हुनेमा प्रस्ताव अघि सार्नुभएको छ ।