फाइल तस्वीर

काठमाडौं – पाँच दलीय सत्ता गठबन्धन दलको बैठक आज बिहीबार अपरान्ह चार बजे बस्ने भएको छ । आगामी स्थानीय तहको निर्वाचन र अन्य समसामयिक विषयमा छलफल गर्न सत्ता गठबन्धनकै उच्चस्तरीय समन्वय समितिको बैठक पनि आजै बस्दै छ ।
स्थानीय तहको समय आगामी जेठ ५ गते सकिंदै छ । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन पर सार्नसक्ने कुनै प्रावधान छैन र स्थानीय सरकार रिक्त हुने व्यवस्था पनि छैन । त्यसले स्थानीय तहको समय सीमा सकिनु अघिनै स्थानीय तहको निर्वाचन गर्नु पर्ने वाध्यता सरकारलाई छ । संविधानले नयाँ निर्वाचित जनप्रतिनिधिलाई निवर्तमान जनप्रतिनिधिहरुले भौतिक रुपमै कार्यकाल र जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने परिकल्पना गरेको छ । त्यसैलाई आधारमा बनाई अहिलेका जनप्रतिनिधिहरुको म्याद बाँकी छँदै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई चौतर्फी दबाब परेको हा े।

सरकारमाथि स्थानीय तहको निर्वाचन टार्न खोजेको आरोप लागेको छ । स्थानीय तहको निर्वाचनको मिति तय गर्न सरकारलाई चौतर्फ दबाब बढेको छ। सरकारलाई स्थानीय तहको निर्वाचनको मिति छिटो तय गर्न दबाब बढाउँदै आएका छन् । निर्वाचन आयोगले समेत सरकारलाई स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सिफारिस समेत गरिसकेको छ । आयोगले यसअघि बैशाख १४ र २२ मा स्थानीय तहको निर्वाचन गराउन सरकारलाई प्रस्ताव गरेको थियो । पाँच दलीय गठबन्धन दलको आजको बैठकमा कसरी जाने भन्ने विषयमा पनि छलफल हुनेछ । यता निर्वाचन आयोगले आगामी बैशाख २२ र २८ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिने प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले बताउनु भएको छ ।

स्थानीय तहको निर्वाचन अघि सङ्घीय र प्रदेशको निर्वाचन गर्ने नेकपा माओवादी केन्द्रको प्रस्ताव छ । बैशाखमा स्थानीय तहको निर्वाचनमा होमिन माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी त्यति इच्छुक छैनन् । यी दुई पार्टी बाहेक अन्य सबै दलहरु अब निर्वाचनमा जानुपर्ने मोडमा देखिएका छन् । सत्तारुढ दल नेपाली काङ्ग्रेस, प्रमुख प्रतिपक्षी दल एमाले जतिसक्यो छिटो निर्वाचनमा जान चाहिरहेका छन् ।

यसअघि मङ्गलबार पनि समितिको बैठक बसेको थियो । सो बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राख्नुभएको थियो । उक्त दिनको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित रहेकाले प्रचण्डको प्रस्तावमाथि छलफल गर्न आजका लागि बैठक बोलाइएको हो ।
आज अपरान्ह चार बजे बस्ने पाँच दलीय गठबन्धन दलको बैठकमा सङ्घीय र स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुनेछ । बैठकमा वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तहको निर्वाचन गर्ने प्रचण्डको प्रस्तावबारे छलफल हुने र सरकारलाई निर्वाचन मितिबारे सुझाव दिने अनुमान छ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं समन्वय समितिका सदस्य दुर्गा पौडेलले संसदीय र स्थानीय तहको निर्वाचन मितिबारे आएको प्रस्तावबारे बैठकमा छलफल हुने बताउनु भएको छ ।

निर्वाचन आयोगले संवैधानिक व्यवस्था अनुसार आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । तर सरकारले निर्वाचनको मिति घोषणा गरेको छैन । आयोगले माघको पहिलो साता नै निर्वाचनको मिति तय गरिए आफूलाई निर्वाचनको तयारी गर्न सहज हुने बताउँदै आएको छ तर सत्तारुढ दलहरु स्थानीय तह निर्वाचन गर्नुपर्नेमा एकमत भए पनि मिति तय गर्न सकेको छैन ।

दलका शीर्ष नेतृत्वबीच सङघीय, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्न सके देशलाई आर्थिक भार पनि नपर्ने भन्ने विषयमा पनि अनौपचारिक रुपमा छलफल भैरहेको बुझिन्छ । आज बस्ने गठबन्धन दलको बैठकले निर्वाचनमा जाने विषयमा एउटा निक्र्योलमा पुग्ने बताइएको छ ।