काठमाडौं – नेपालमा पछिल्लो समय कोरोना भाइरसको महामारी फैलिंदै आन्तरिक हवाई यात्रालाई कसिलो बनाइएको छ । आन्तरिक उडानमा जाने यात्रुहरुले अब जहाजमा यात्रा गर्नका लागि कोरोना भाइरसविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ । आन्तरिक हवाई यात्राका लागि विमानस्थल प्रवेश गर्दा यात्रुले कोरोना भाइरसविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ ।

वायु सेवा सञ्चालक सङ्घको बुधबार बसेको कार्यसमिति बैठकले हवाई यात्रुले विमानस्थल प्रवेश गर्दा कोरोना भाइरसविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि) अनिवार्य गर्ने निर्णय गरेको छ ।

सङ्घले हवाई जहाज भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाई जहाज र ब्यागेज निसङ्क्रमित गर्नुपर्ने तथा चेक–इक, बोडिङ्ग, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भीडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागू गर्ने निर्णय समेत गरेको छ ।