काठमाडौं — कोरोना भाइरसको सङ्क्रमणले महामारीको रुप लिंदै गर्दा विशेष अदालतले थुनुवा बाहेकका सबै सेवा स्थगित गरिएको जनाएको छ । सङक्रमणको जोखिम बढेको भन्दै विशेष अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने भएको हो ।

विशेष अदालतले परिस्थिति अलि सहज नहुँदासम्म थुनुवाको म्याद थपको कामकारवाही बाहेक अरु काम नगर्ने भएको छ । अहिले विशेष अदालतमा थुनुवा समेत भएका मुद्दाहरु ज्यादै कम रहेको विशेष अदालतले जनाएको छ ।

विशेष अदालतले आरोपपत्रका साथ उपस्थित गराइएका आरोपितको थुनछेक आदेश बाहेक अरु न्यायिक काम नगर्ने र आरोपपत्र दर्ताको काम प्रशासनतिक प्रकृतिको भएकोले त्यो भने जारी राख्ने जनाएको छ । विशेष अदालतले थुनुवाई बाहेकका पेशी र अरु तारिख दिने काम पनि नगर्ने भएको छ । सबै मुद्दाको सुनुवाइ समेत रोकेको छ । हाजिर हुन आउने निवेदन पनि नलिने भएको छ ।

विशेष अदालतको सूचनामा भनिएको छ, ‘यस अदालतमा कार्यरत केही कर्मचारी एवं नियमित बहस पैरवीमा उपस्थित हुने केही सरकारी वकिल र कानून व्यवसायीसमेत सङ्क्रमित हुनुभएका र अन्यसमेत सङ्क्रमितको सम्पर्कमा रहन पुगेको परिस्थितिमा नियमित कार्यसञ्चालन गर्दा थप सरोकारवालामा समेत प्रत्यक्ष जोखिम हुन सक्ने परिस्थितिको मूल्याङ्कन गरी आवश्यक सावधानी अपनाउनु पर्ने भएकोले यो सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ ।’