काठमाडौं – नेपालमा आज एकदिन १० हजार २५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण भित्रिएयता एकैदिन यति धेरै सङ्क्रमित थपिएको यो पहिलो पटक हो । यसअघि २०७८ बैशाख २८ मा नौ हजार चार सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा गरी कुल २२ हजार आठसय २८ जनाको कोरोना सङ्क्रमण भए नभएको परीक्षण गरिएको थियो । पीसीआरबाट १७ हजार आठसय ७२ जनाको परीक्षण गर्दा आठ हाजार सातसय ३० जनामा र १० हजार २५८ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार पाँचसय २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ३९ हजार ४४ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण निको हुनेको सङ्ख्या पाँचसय ६२ जना रहेका छन् भने उपचारकै सङ्क्रमित भएका मध्ये एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।