काठमाडौं– उपत्यकामा केही दिनदेखि बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण र रोकथाप गर्ने अभिप्रायले जिल्ला प्रशासन कार्यालय काठमाडौँले २७ बुँदे आदेश जारी गरेको छ ।

पुस ३० गते शुक्रबार बसेको मन्त्रिपरिषद्कोे निर्णयबाट जारी आदेश, सङ्क्रामक रोग ऐनले दिएको अधिकार र स्थानीय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरी आज मङ्गलबार राति १२ः०० बजेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त आदेश जारी गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी गरिएको आदेशमा माघ मसान्तसम्म सबै प्रकारका आमसभा, जुलुस, सभा गर्न नपाइने उल्लेख गरिएको छ । विभिन्न गोष्ठी, बैठकहरु एवम् सेमिनार जस्ता कार्यहरु भर्चुअल माध्यमबाट गर्नु पर्नेछ भनिएको छ ।

यसैगरी आज जारी गरिएको आदेशमा माघ १५ गतेसम्म सिनेमा हाल, डान्सबार, दोहोरी, नाचघर, क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ । विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम तथा विविध शैक्षक क्रियाकलापहरु पनि माघ १५ सम्म बन्द गर्नुपर्ने आदेशमा भनिएको छ । परीक्षाहरु भने स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने उल्लेख छ ।