काठमाडौं – सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गर्दै गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घले स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न माग गरेका छन् । आज संयुक्त विज्ञप्ति जारी गर्दै सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गर्दै तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “स्थानीय तहको निर्वाचन ऐन, २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमशः २०७९ जेठ ७, असार २१ र असोज ७ गते सकिने भएकोले दोस्रो कार्यकालका लागि तत्काल निर्वाचन प्रकृया सुरु गर्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गर्दछौं ।”

संविधान र स्थानीय तह निर्वाचन ऐनले एकदिन पनि जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेको र स्थानीय तहको कार्यभार प्रदेश वा सङ्घीय सरकारले सञ्चालन र व्यवस्थापन गर्ने पनि व्यवस्था नगरेको विज्ञप्तिमा उल्लेख छ ।

समयमा नै निर्वाचन भएन भने संवैधानिक सङ्कट आउने उनीहरुको ठहर छ । जसले गर्दा वार्षिक नीति तथा कार्यक्रम र बजेट स्वीकृत गर्ने स्थानीय सञ्चित कोष व्यवस्थापन, बजेट खर्चको अख्तियारी दिने, कानुन निर्माण प्रकृया, योजना तर्जुमा, कार्यान्वयन र अनुगमन प्रणाली नै अवरुद्ध हुने तथा प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र वडाध्यक्षले गर्दै आइरहेका सिफारिस लगायतका अन्य कार्यहरु नहुँदा सेवा प्रवाह पनि अवरुद्ध हुने विज्ञप्तिमा उल्लेख छ ।