काठमाडौं – सरकारले काठमाडौंमा आजदेखि कोरोना भाइरसविरुद्धको बुस्टर खोप लगाउने भएको छ । तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुका लागि काठमाडौंका विभिन्न १७ स्थानमा कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिन लागेको हो ।

हिजो आइतबारदेखि नै काठमाडौंमा बुस्टर खोप दिने भनिएता पनि राम्रोसँग व्यवस्थापन हुन नसकेकाले आज सोमबारदेखि खोप दिन लागिएको हो । खोप सञ्चालन भइरहेका काठमाडौं जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । जिल्ला खोप व्यवस्थापन एवं समन्वय समितिको बैठकले सोमबारदेखि चालु खोप केन्द्रबाटै बुस्टर मात्रा लगाउन मिल्ने गरी निर्णय गरेको छ ।


बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको किम्तमा ६ महिना पूरा हुनुपर्नेछ । काठमाडौंमा आर्मी अस्पताल, प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, प्रसुती गृह थापाथली, टेकु अस्पताललगायत स्थानमा बुस्टर मात्रा लगाइनेछ ।