फाइल तस्वीर
काठमाडौं– देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै धार्मिक कार्यक्रमहरु गर्न समेत कडाइ गरेको छ । विवाह, ब्रतबन्ध लगायत धार्मिक कार्यक्रम गर्न निश्चित मापदण्ड तोक्दै यस्ता कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालयबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भएको हो । धार्मिकस्थलमा भने जनस्वास्थ्यको मापदण्ड पालना गरी नित्यकर्म धार्मिक पूजा गर्न पाउने निर्णय भएको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता कार्कीले विवाह, ब्रतबन्ध तथा अन्य पार्टी गर्दा पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको एक तिहाइमा नबढ्ने गरी बढीमा ५० जनामात्र उपस्थित गरेर सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । मन्त्री कार्कीले केही समयका लागि सिनेमाघर, डान्सबार, जिमखाना, दोहोरी र हाटहरु सञ्चालनमा समेत सरकारले रोक लगाएको जानकारी गराउनु भएको छ ।

सरकारले सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एक पटकमा २५ जनाभन्दा बढी उपस्थित नहुने गरी सञ्चालन गर्नुपर्ने मापदण्ड पनि तोकेको छ । त्यस्तै कुनै पनि खेलकुद प्रतियोगितामा कूल क्षमताको एक तिहाइमात्र दर्शक राख्न पाउने व्यवस्था गर्नुको साथै खेल आयोजकको खर्चमा उपस्थित दर्शकमध्ये एक तिहाइको एन्टिजेन परीक्षण गर्नुपर्ने निर्णय पनि सरकारले गरेको छ ।