काठमाडौं– भारत सरकारले नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकमा एकलौटी रुपमा नेपाल सरकारको स्वीकृत नलिइ सडक विस्तार गरेको विषयलाई लिएर सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको छ । नेपाल सरकारले महाकाली नदीपूर्वको लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको बताउनु भएको छ ।
मन्त्री कार्कीले ‘नेपाल सरकारले भारत सरकारलाई नेपाली भू–भाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न आग्रह गर्दै आएको सञ्चारकर्मीहरुलाई जानकारी गराउनु भएको छ ।
नेपाल–भारतबीच रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धिसम्झौता तथा नक्सा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रहेको मन्त्री कार्कीले उल्लेख गर्नुभएको छ ।