फाइल तस्वीर
काठमाडौं– काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको विमानमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौंमै अवतरण गरेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । आइतबार बिहान १० बजे पोखराको लागि उडेको जहाज उडेपछि जहाजको ककपिटमा इन्डिकेटरले एउटा ढोका लक नभएको सूचना आएपछि पाइलटले जहाजलाई तत्काल विमानस्थल टावरलाई जानकारी गराएर विमान फर्काइको थियो । अहिले जहाजको प्राविधिक परीक्षण भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।


बिहान ८ बजे पोखरा उड्ने तालिका रहेको गुण एयरलाइन्सको जहाज १० बजेमात्र उँडेको थियो । जहाजमा प्राविधिक समस्या देखिएर त्रिभुवन विमानस्थलमा अवतरण गरेको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाईंले जानकारी गराउनु भएको छ । पोखराका यात्रुहरुलाई अर्को जहाजबाट पोखरा लैजाने तयारी भैरहेको गुण एयरलाइन्सले जनाएको छ । जहाज उडेको पाँच मिनेटपछि उचाइ लिंदै गर्दा यात्रु चढ्ने ढोकामा प्राविधिक समस्या आएको भन्दै विमानलाई फर्काएर अवतरण गराइएको थियो ।


नेपालको आन्तरिक हवाई सुरक्षामा प्रश्न चिन्ह खडा भएको छ । पुराना जहाज ल्याएर नेपालमा व्यवसायिक उडान गर्ने निजी विमान कम्पनीहरुले यात्रुहरुको जीवनसँग खेलवाड गरेको यात्रुहरुले गुनासो गर्दै आएका छन् । केही समय अघि बुद्ध एयरको पोखरा र विराटनगर उडेको जहाज पनि प्राविधिक समस्या आएको भन्दै काठमाडौंमा अवतरण गरिएको थियो । निजी क्षेत्रका विमान कम्पनीहरुले यात्रुको जीवन सुरक्षित गर्ने भन्दा पनि व्यवसायलाई बढी महत्व दिएको भन्ने गुनासाहरु बढ्न थालेका छन् ।