काठमाडौं – वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतबारदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको वैदेशिक रोजगार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र पारदर्शी रुपमा गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको हो ।

यस अघि सरकारले २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट श्रम स्वीकृतिको काम गर्दै आएको थियो । देशमा अहिलो तेस्रो चरणको कोरोना भाइरसको महामारी बढ्न थाले पछि आजदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति जारी गर्न लागेको हो ।

वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र गर्न लागिएको बताउनु भएको छ ।

पुनः श्रम स्वीकृतिको अनलाइन सेवा लिन सेवाग्राहीले वैदेशिक रोजगार विभागको वेभसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत् आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्ने हुन्छ । यसका लागि सुरुमा विभागको वेभसाइटमा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नु पर्दछ । पुनः श्रम स्वीकृतिको अनलाइन सेवा वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली गएर पनि खोल्न सकिनेछ ।

श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारणसहितको सूचना आवेदकको मोबाइल नम्बर र आवेदन गर्दाको युजर एकाउन्टमा खबर आउँछ । श्रम स्वीकृतिको फारम भर्दा आफ्नो व्यक्तिगत मोबाइल नम्बर र इमेल ठेगाना अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ । अर्कोपटक श्रम स्वीकृति लिन या श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकाले निवदेकले आवेदन गर्दाको युजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्ने कार्यालयले बताएको छ । वैदेशिक रोजगार कार्यालयबाट चालु आर्थिक वर्षको पुससम्ममा पुनः श्रम स्वीकृतितर्फ करीब एक लाख जना, संस्थागततर्फ एक लाख ८० हजार र व्यक्तिगततर्फ आठ हजारभन्दा बढीले सेवा लिइसकेका छन् ।


अनलाइनमा कागजात जाँच गर्न समय लाग्ने हुँदा कम्तिमा तीन दिन अगाडि अनलाइन फाराम भर्न र श्रम स्वीकृति पाइसकेपछि मात्र हवाई टिकटको व्यवस्था गर्न कार्यालयले सेवाग्राहीलाई आग्रह गरेको छ । उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्ने भएकाले सो बमोजिम भए नभएको यकिन गर्न समेत कार्यालयले सेवाग्राहीहरुलाई आग्रह गरेको छ ।