काठमाडौं– राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरुलाई आह्वान गरेको छ । आज शुक्रबार बिहान ११ बजेको लागि आयोगले सर्वदलीय बैठकको आयोजना गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सर्वदलीय बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि त्यसको तयारीसम्मका विषयहरुमा छलफल हुनेछ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायत १७ वटा राजनीतिक दललाई बैठकमा सहभागी हुन पत्राचार गरिसकेको छ ।

आगामी माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदै छ । देशमा बढ्दो कोरोना भाइरसको सङ्क्रमणलाई ध्यान दिंदै राष्ट्रियसभा निर्वाचनलाई कसरी सम्पन्न गर्ने भन्ने विषयमा दलसँग छलफल हुने बताइएको छ । राष्ट्रियसभाका मतदाता प्रदेश सांसद र पालिका प्रमुख उपप्रमुखलाई सम्बन्धित जिल्लामै मतदान गर्ने व्यवस्था गरेर भएपछि निर्वाचन गर्नेे तयारी रहेको आयोगका प्रवक्ता पौडेलले बताउनु भएको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल समाप्त हुन लागेकोले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको विषयमा पनि दलहरुसँग छलफल गर्ने छ । आयोगले स्थानीय तहको निर्वाचनको तयारी सुरु गरेको छ । आयोगले निर्वाचन अगाडि मतदाता नामावली सङ्कलन लगायतका विषयमा समेत छलफल गर्न लागेको हो ।

स्थानीय तहको निर्वाचन गर्न आयोगले सरकारलाई मिति प्रस्ताव गरिसकेको छ । यसका लागि सर्वदलीय बैठकमार्फत् राय लिने भएको छ । आगामी २०७९ बैशाखमा स्थानीय तहको निर्वाचन गर्न माघको पहिलो साताभित्र निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाएको छ ।