काठमाडौं— काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गर्ने भएकोे छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित महामारीलाई मध्यनजर गर्दै ’स्मार्ट लकडाउन’ सहित कडाइ गर्ने निर्णय गरेको हो । सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको छ ।


जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी गरिएको सूचनाअनुसार सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गर्ने, साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने उल्लेख छ । कार्यालले जारी गरेको सूचनामा भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ ७ गतेदेखि खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ गतेसम्म विद्यालय बन्द गर्नेलगायतका निर्णयहरु गरिएका छन् ।


काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनालाई नै आधार मानेर जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरले पनि स्मार्ट लकडाउन लागू गरेका छन् । काठमाडौं उपत्यधामा स्मार्ट लकडाउनको आदेश आज मध्यराति १२ बजेदेखि लागू हुँदैछ ।