काठमाडौं — नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको जग्गा व्यापारी घराना बतास समूहलाई रेष्टुरेन्ट सञ्चालन गर्न अनुमति दिएको विषय विवादमा आएपछि सो सम्बन्धी अध्यक्ष कार्यदलले बुझाएको प्रतिवेदनमा कार्यकारी निर्देशकको समेत संलग्नता देखिए पछि दाहालले कार्यकारी निर्देशकको पदबाट राजीनामा दिनु भएको हो ।


कार्यकारी निर्देशक दाहालले आज मङलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएको मन्त्रालयले जनाएको छ । जग्गा ठेक्काको सम्बन्धमा छानबिन गर्न मन्त्रालयले बनाएको छानबिन समितिले दाहालले जिम्मेवारी पूरा नगरेको र सेटिङमा उनको समेत संलग्नता देखिएकाले कार्यकारी निर्देशक दाहाललाई कारबाही गर्नुपर्ने निष्कर्षसहित सोमबार प्रतिवेदन सार्वजनिक गरिएको थियो ।