काठमाडौं – काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना सङ्क्रमणको जोखिम बढेकाले अत्यावश्यक नपरी घरबाहिर ननिस्कन, सार्वजनिक स्थानमा जम्मा नहुन, सभाजुलुस, भोजभतेर, जात्रा महोत्सव नगर्न आदेश दिएको छ ।

काठमाडौं उपत्यकालगायत मुलुकभर नै कोरोना सङ्क्रमणको जोखिम बढेकाले उपत्यकाका तीनै प्रशासन कार्यालयहरुले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घरबाहिर अत्यावश्यक काम नपरी ननिस्कन र निस्कनै परे सबैले अनिवार्य मास्कको प्रयोग गर्न पनि अनुरोध गरेका छन् ।

चाडपर्वहरुमा पनि परिवारभित्रका मानिस मात्र जम्मा भएर चाडपर्व मनाउन पनि उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आदेश गरेका छन् ।