काठमाडौं – अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आफन्तहरुले नुवाकोटको त्रिशूली अस्पतालमा तोडफोड गरेका छन्। आफन्तहरुबाट अस्पताल तोडफोड गरिएपछि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । सुत्केरीका आफन्तले अस्पताल तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास गरेपछि आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो ।

चिकित्सकहरूको सुरक्षाको ग्यारेन्टी भएपछि मात्र सम्पूर्ण सेवा सञ्चालन गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले बताउनुभयो । नुवाकोटको विदूर नगरपालिका–७ की २७ वर्षीया एक महिलाको सोमबार राति नर्मल डेलिभरी भएको थियो । सुत्केरी भएपछि अत्यधिक रक्तश्रावका कारण ती महिलाको मृत्यु भएको जनाइएको छ । सुत्केरीको मृत्यु भएसँगै आफन्तले अस्पतालको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै राति साढे ११ बजेदेखि अस्पतालमा तोडफोड गर्न थालेका थिए । तोडफोडबाट अस्पतालको पेडियाट्रिक ओपीडी, ईसीजी रुम, सर्जरी ओपीडी र फार्मेसीलगायत कक्षमा क्षति पुगेको छ ।

डा. पाण्डेका अनुसार उपचारका क्रममा कुनै लापरबाही नभएको दाबी गर्दै मृतकका आफन्तलाई तोडफोड भन्दा पनि उपचारमा चित्त नबुझे सम्बन्धित निकायमा उजुरी दिन आग्रह गरेका छन् । ४० हप्ता कटेको गर्भ लिएर सुत्केरी गराउन आएकी ती महिलालाई प्रसव गराउन औषधि दिइएको थियो भने नर्मल डेलिभरीपछि उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको डा.पाण्डेले बताउनुभएको छ ।