काठमाडौं – विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको बढ्दो महामारीकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ । अत्यावश्यक अवस्थामा बाहेक ‘भी पास’ (भिजिटर पास) उपलब्ध नहुने निर्णय भएको कार्यालयले जनाएको छ ।

साथै विमानस्थल कार्यालयले विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थल नआउन समेत सर्वसाधारणमा अनुरोध गरेको छ । यसअघि पनि कार्यालयले स्वागत र बिदाइमा विमानस्थलमा नआउन आह्वान गरिरहेको छ । तर, मानिसहरुको भिडभाड नघटेपछि कार्यालयले फेरि पनि यस्तो आह्वान गरेको हो ।

कार्यालयले हवाई यात्राका दौरान समेत आवश्यक मापदण्ड पालना गर्न सरोकारवालालाई आग्रह गरेको छ । नेपाल र छिमेकी मुलुकमा समेत कोरोना सङ्क्रमण दर फैलिएकोले यसबाट बच्न मापदण्ड पालना गर्न भनिएको छ ।