काठमाडौं – नेपालभर १२ देखि १७ वर्षसम्मका किशोर/किशोरीलाई कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ । भक्तपुरमा गत शुक्रबारदेखि मोर्डना खोप दिइँदै छ भने काठमाडौं र ललितपुरमा आजदेखि फाइजर खोप दिइँदैछ ।

पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन भइरहेका केन्द्रबाट किशोर/किशोरीलाई खोप दिइने स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । काठमाडौं र ललितपुरमा पनि विद्यालय र यसअघि तोकिएका दुवै केन्द्रबाट खोप दिइनेछ । विद्यालय नगएका तर ११ देखि १७ वर्षसम्मका किशोर/किशोरीले पनि उमेर खुल्ने परिचयपत्रका आधारमा खोप लगाउन पाउनेछन् ।

ललितपुरमा स्थानीय पालिकाहरुले वडा अनुसार एक दिनमा चारवटा वडाका विद्यालयका दरले खोप दिँदैछन् । यी जिल्लामा लक्षित सबै किशोर/किशोरीलाई ‘कभरेज’ नभएससम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । ११ देखि १७ वर्षसम्मका किशोर/किशोरीको संख्या भक्तपुरमा ५० हजार, ललितपुरमा ७१ हजार र काठमाडौंमा दुई लाख ५० हजार रहेको स्वास्थ्य कार्यालयहरूको तथ्याङ्कमा उल्लेख छ ।