फाइल तस्वीर
काठमाडौं — पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न पृथ्वी जयन्तीले प्रेरणा प्रदान गर्ने बताउनु भएको छ ।

राष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज शुभकामना जारी गर्दै ‘यस युगीन दायित्वलाई कार्यरूपमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण राखी समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प पूरा गर्न आजका दिनले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु’ भन्नुभएको छ ।

राष्ट्रपति भण्डारीद्वारा जारी सन्देशमा ‘महत्वपूर्ण राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धि हासिल गर्नुपर्ने वर्तमान चरणमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहका दूरदर्शी विचारलाई आत्मसात् गर्दै अघि बढ्न सके मुलुकको सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुग्न जाने’ उल्लेख गरिएको छ । उक्त सन्देशमा नेपाल एकीकरणमार्फत् यहाँका मौलिक संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सदृढ राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधार भूमिसमेत तयार भएको उल्लेख छ ।

‘तत्कालीन समयमा पृथ्वीनारायणले देशको सामाजिक, आर्थिक एवं वैदेशिक नीतिका सन्दर्भमा छाडेर गएका सन्देश वर्तमान अवस्थामा पनि उत्तिकै मननीय रहेका छन्’ –राष्ट्रपति भण्डारीद्वारा जारी सन्देशमा व्यक्त गरिएको छ ।