काठमाडौं — कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेपछि सरकारले भोली पुष २७ गतेदेखि नै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा भोली पुष २७ गते मङ्गलबारदेखि माघ १५ गते शनिबारसम्म विद्यालयहरु बन्द हुने भनिएको छ ।


विद्यार्थीहरुलाई वैकल्पिक सिकाइसँग जोड्न मन्त्रालयले विज्ञप्तिमार्फत् निर्देशन दिएको छ । मन्त्रालयबाट जारी विज्ञप्तिमा ‘विदाको अवधिमा सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउनु’ भनिएको छ ।
त्यस्तै विश्वविद्यालय शैक्षिक प्रतिष्ठानहरुको पूर्वनिर्धारित सेमेष्टर, वार्षिक परीक्षाका कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्डहरु पूर्ण रुपमा पालना गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ । जेड आकारमा विद्यार्थीको बसाइ व्यवस्था गरी परीक्षा सञ्चालन गर्न मन्त्रालयले विश्वविद्यालयलाई आग्रह गरेको छ ।


यसअघि सोमबार कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आगामी माघ १५ गते शनिबारसम्म विद्यालय बन्द गर्न सरकारलाई सुझाएको थियो ।