काठमाडौं – सर्वोच्च अदालतका दुई जना न्यायाधीशविरुद्ध कारबाहीको माग गर्दै कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानका संयोजकसमेत रहनुभएका अधिवक्ता शिव सत्यालले न्याय परिषद्मा उजुरी दर्ता गराउनु भएको छ । अधिवक्ता सत्यालले न्यायाधीशद्वय मिरा खड्का र प्रकाशमान सिंह राउतविरुद्ध छानबिन गरी कारवारी गर्न माग गर्नुभएको हो ।

अधिवक्ता सत्यालले न्यायाधीशद्वारा खड्का र सिंह राउतमाथि छानबिन गरी कारबाही गर्न माग गर्दै न्याय परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासमक्ष उजुरी दिनुभएको छ । उजरीमा न्यायाधीश खड्काले तीन वटा नागरिकता लिएको र न्यायाधीस सिंहले नेपाल रेडक्रसको मुद्दामा न्यायिक आचरण विपरीत गइ आदेश गरेको आधारमा छानबिन समिति बनाएर छानबिन गर्न माग गरिएको छ ।

कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानका संयोजक सत्यालले सोमबार प्रधानन्यायाधीश जबरालाई बुझाएको उजुरीपत्रमा ‘यस सम्मानित आयोगबाट उल्लेखित विषयमा छुट्टै छानबिन समिति बनाइ छानबिन गरी माननीय न्यायाधीश मीरा खड्काको हकमा नागरिकता किर्ते गरी यसै परिषद्लाई नै दोष लगाएकोले निजलाई पदमुक्त गरी नागरिकता किर्ते मुद्दा चलाउन सम्बन्धित प्रहरी कार्यालयमा पत्राचार गरी, माननीय न्यायाधीश प्रकाशमान सिंह राउतले आफ्नो स्वर्थ बाझिने मुद्दा हेरी सुनुवाइ गरेकोले न्यायाधीशको आचरसंहिता विपरित गर्नुभएको कार्य सम्मानीत सर्वोच्च अदालतको मान मर्यादा प्रतिष्ठामा गम्भीर क्षति पुग्ने कार्य गर्नु गराउनु भएकोले निजहरुलाई इजलास तोक्ने कार्य, निजले पेशी व्यवस्थापनका लागि गोला तान्ने कार्यलगायत न्यायिक निरुपणका कुनै पनि कार्यमा संलग्न हुनबाट रोक लगाई निजहरुका हकममा आवस्यक छानबिन गरी कानुन बमोजिम कारबाही गरी पाउन विनम्र अनुरोध गरिन्छ’ भनि उल्लेख गरिएको छ ।

अभियानले नेपाल बारको गैरसंवैधानिक आन्दोलनलाई न्यायाधीशका रुपमा इजलास नै बहिष्कार गरेर सहयोग गरेकाले पनि दुवै न्यायाधीशहरमाथि कारबाही हुनुपर्ने तर्क अघि सारेको छ । कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने कानुन व्यवसायीहरु र नेपाल बार एशोसिशनले गर्दै आएको आन्दोलनको विरोध गर्दै आएको छ ।