काठमाडौं– सरकारले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा ३ वटा दरबन्दी थप गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले गत साता सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर एआईजीको ३ वटा दरबन्दी थप्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो । उक्त प्रस्तावलाई गृह मन्त्रालयले अगाडि बढाएको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्को बैठकले पास गरेमा नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) को कुल सङ्ख्या आठ हुनेछ ।

नेपाल प्रहरी मौजुदा पाँच जना एआईजी छन् । अहिले थप गर्न लागिएको तीन वटा दरबन्दी प्रहरी प्रधान कार्यालयले प्रशासन विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोमा एआईजी राख्न प्रस्ताव गरेको छ । प्रधान कार्यालयमा मानवस्रोत र प्रशासन विभागलाई एकै ठाउँमा राखिएको छ । नयाँ प्रस्ताव अनुसार यसलाई दुट्याइने छ । मानवस्रोत र प्रशासनलाई छुट्याएर प्रशासनतर्फ पनि एआईजी राख्न प्रस्ताव गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको पदावधि अबको चार महिनामा सकिंदै छ । आगामी बैशाख २०७९ वैशाख १९ गते महानिरीक्षक क्षेत्रीको कार्यकाल सकिएपछि भावि प्रहरी महानिरीक्षकको दौडमा एआईजीहरु विश्वराज पोखरेल र सहकुल थापा सम्भावित पात्र हुन् । यद्यपि, नयाँ थपिने दरबन्दीमा बढुवा हुने ३ जना एआईजीहरुले पनि प्रहरी महानिरीक्षकमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रहरी नियमावली–२०७१ लाई संशोधन गरेर थप गर्न लागिएको ३ वटा एआईजीमा बढुवाको प्रतिस्पर्धामा डीआईजीहरु धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, बसन्त पन्त, ईश्वरबावु कार्की, घनश्याम अर्याल, रविन्द्र धानुक, बसन्त लामा र अरुण बिसी रहने छन् ।