फाइल तस्वीर
काठमाडौं – नेपाली काङ्ग्रेसका नेता नैनसिंह महरले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताउनुभएको छ । थारु विद्यार्थी सङ्घको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा उहाँले देशमा फेरि कोरोना सङ्क्रमणको जोखिम बढेकाले बालबालिकालाई त्यसको सम्भावित खतराबाट बचाउनुपर्ने बताउनुभएको हो ।

“हामीले १८ वर्षमुनिका सबै बालबालिकालाई खोपको उपलब्धता गराउन सकेका छैनौँ । छिमेकी मुलुक भारतमा कोरोना तीव्र बनेसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ । पछिल्ला दिनमा नेपालमा समेत कोरोना बढ्दो छ । यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम देखिन्छ,” उहाँले भन्नुभयो ।

पहिलाको जस्तै वैकल्पिक विधि अपनाएर वा १५ दिनलाई हिउँदे बिदामा मिलाएर भए पनि शैक्षिक संस्था बन्द गर्नुपर्ने नेविसङ्घका पूर्वअध्यक्ष समेत रहनुभएका महरको सुझाव छ । सरोकारवालाहरूसँगको परामर्शका आधारमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले नै चाँडो कोरोना रोकथामको नीति अवलम्बन गर्न आवश्यक रहेको महरले औँल्याउनुभयो ।

काङ्ग्रेस नेता महरले राजनीतिक दलहरूले पनि स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सबै पार्टीका नेताहरूले पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर आफ्ना कार्यकर्ताहरूलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन लगाउनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा सहभागी शिक्षाविद् र सरोकारवालाहरूले पनि कोरोनाको अर्को लहरबाट बालबालिकालाई जोगाउनका लागि केही दिन विद्यालय बन्द गर्नु नै उत्तम विकल्प हुने सुझाव दिनुभएको थियो ।