फाइल तस्वीर
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमाले का अध्यक्ष केपी शर्मा ओलीले आफुलाई ठूलो देखाउन माओवादी केन्द्रसँग पार्टी एकता गरेका बताउनु भएको छ । अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको टाउकोमा टेकेर ओलीले आफुलाई ठूलो देखाउन खोजेको दावी गर्नु भयो ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट निकालेको पीडा खप्न नसकेर ओली भुक्दै हिँडेको भन्दै कोही डाक्टर भए उपचार गरिदिन सुझाउनु भएको छ । गफाडीको संज्ञा दिंदै अध्यक्ष नेपालले ओलीले नेपालमा आफुले जतिकाम कसैले नगरेको भन्दै गुड्डी हाँक्नु असन्तुलित मानसिकताको उपज भएको आरोप लगाउनु भएको छ ।

ओलीको अनुदार, हठ र दम्भकै कारण आफुहरुले छुट्टै पार्टी निर्माण गर्नु परेको भन्दै अध्यक्ष नेपालले ‘ अहिले ओलीलाई राप्रपा प्यारो छ, महन्थ ठाकुरहरु पृय छन् । विदेशीहरु पृय छन्, तर आफ्नै पार्टीका कार्यकर्ताहरु उनका दुस्मन भएका छन् । जसले उनलाई ‘बा’ भन्दैनन्, जसले उनलाई पुज्दैनन्, जसले उनको भजन गाउँदैनन् उनीहरु पीडित छन्’ भन्नुभयो ।


नेता नेपालले ‘विचित्र छ, प्रधानमन्त्री बन्ने बेलामा, बालुवाटार जाने बेलामा बरु कार्यकर्ताहरुको जुलुस त्यहाँ पुग्ने गर्दछ । तर बालुवाटारबाट बिदा हुने बेलामा त्यहाँ कोही जाँदैनन् । तर केपी बाको तरिका के भएछ भने बालुवाटारबाट जुलुस भएछ, विजय जुलुसजस्तै । बालकोट पुग्यो । बालकोटको बार्दलीमा बसेर तथानाम गाली गरे । त्यो के हो भने–प्रधानमन्त्रीबाट निकालेको पीडाबाट छट्पटिएको बोलेको अभिव्यक्ति थियो । पीडा धेरै भइसकेपछि त्यो मुखबाट बाहिर निस्कन्छ । कहिले त्यो भोमिट गरेर निस्कन्छ, कहिले शब्दबाट निस्कन्छ । तपाईंहरुमध्ये कोही डाक्टर भए उपचार गरिदिनु भए हुन्छ’ भनेर ओलीको कटक्षा गर्नुभयो ।

आफूभन्दा जान्ने सुन्ने कोही छैन भन्ने प्रवृत्ति केपी ओलीमा रहेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले ‘ओलीले बालुवाटारबाट बालकोट पुग्ने बित्तिकै भुक्नु परेछ । कारण के हो भन्दाखेरी उनमा दम्भ सवार हो त्यो । व्यक्तिवाद सवार भयो । मैमत्त प्रवृत्ति सवार भयो । मभन्दा जान्ने, सुन्ने कोही छैन भन्ने प्रवृत्ति हुर्केर आयो । उनमा दम्भी नेताको विशेषता देखियो’ भन्नुभएको छ ।

‘नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन हामीले भूमिका खेलेका थियौं । मै हुँ त्यो महत्वपूर्ण भूमिका खेल्ने मान्छे’ भन्दै अध्यक्ष नेपालले लखनउदेखि लिएर सिलिगुढीसम्म पुग्ने, कुराकानी गर्नका लागि, गिरिजाप्रसाद कोइरालालाई रोल्पा पु¥याउने, दिल्लीसँगै लिएर गएर वार्ता र सहमति गराएको दावी समेत गर्नुभयो ।

‘दुईटा पार्टीहरु मिल्ने भए–एमाले र माओवादी । देशका मुख्य वाम घटकका नेताहरु एक ठाउँमा आउने भए भनेर खुसी भयौं’ तर ओलीको षडयन्त्र त अर्कैै रहेछ भन्दै अध्यक्ष नेपालले ‘यस्तो अवस्थामा एउटा ठूलो राम्रो अवस्था आयो भनेर खुशी भयौं । निर्वाचनमा झण्डै दुई तिहाईको अवस्था भएको देखियो । हामी प्रफुल्ल भयौं तर त्यो उद्देश्य अर्कै रहेछ भन्नुभयो । नेता नेपालले ‘ओलीले माओवादीसँग पार्टी एकता गर्नुको उद्देश्य त प्रचण्डको टाउकोमा चढेर म सबैभन्दा अग्लो छु भनेर देखाउने सोच रहेछ । उहाँको पिठ्यूलाई सिँडीको रुपमा प्रयोग गरेर अनि आफूलाई अग्लो देखाउने प्रवृत्ति रहेछ । अनि त्यहीँ प्रवृत्तिले ओलीमा दम्भ सवार भयो । पछि पार्टीमा हेप्न सबैलाई हेप्न थाले’ भन्दै ओलीप्रति चर्को आचोलना गर्नु भयो ।