काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालय अन्तर्गतका ९ बजेदेखि ५ बजेसम्म खुल्ने सरकारी सङ्घ संस्थाका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेको बताउनुभएको छ । गृह मन्त्रालय मातहतको नेपाल निजामती कर्मचारी युनियनको ८ औँ विभागीय अधिवेशनमा बोल्दै गृहमन्त्री खाँणले मन्त्रालय अन्तर्गतका ९बजेदेखि ५ बजेसम्म खुल्ने सरकारी सङ्घ संस्थाका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन अर्थमन्त्रालयसँग पहल गरिरहेको बताउनुभएको हो ।

उहाँले सरकारी कार्यालयहरुमा काम गर्ने अवधि बढाएपछि ओभरटाइमको पैसा दिन नसकेपनि खाजा खाने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले हाल नागरिकता, ई–पासपोर्टका लागि लाइन रहेको सन्दर्भमा केही जिल्लाहरुले कार्यालयको समयावधि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बढाएको बताउनुभयो । गृहमन्त्री खाँणले भन्नुभयो, ‘कतिपय जिल्ला प्रशासनले त्यहाँको जिल्ला प्रशासन कार्यालयमा १० देखि ४ सम्मको हाम्रो कार्यावधिलाई उहाँहरु आफैँले ९ देखि ५ बनाइदिनुभएको छ । हेर्दा सजिलो छ । १० बजे पुग्नलाई ९ बजे खानुपर्छ । ९ बजे पुग्नलाई ८ बजे नै खाना खानुपर्छ । अहिले अर्थमन्त्रालयसँग हामीले कुरा गरिरहेका छौँ । राम्रो प्रस्ताव हो भनेको छ तर सहमति दिइसकेको छैन । कम्तिमा हामीले काम गर्ने समयावधि बढाउँदा सुरक्षा निकायहरुलाई, गृहमातहतका निकाहरुलाई ओभरटाइम नदिएपनि कम्तिमा खाजा खाने भत्ता त दिनुहोस् । सर्भिस डेलिभरी दिनुप¥यो । त्यसले जनताको समय पनि बच्छ । लाइनमा समय नलागेपछि उहाँहरुले उत्पादनमा काम गर्नुहुन्छ, उद्योग, व्यवसाय गर्नुहोला । त्यसैले अर्थमन्त्रालय यसमा उदार बनिदिनुहोस् ।’

गृहमन्त्री खाँणले कर्मचारीहरुलाई सरकारले सुविधा नदिए वा सरकार जनताप्रति उत्तरदायी हुन नसके कर्मचारीहरुले सरकारलाई सचेत गराउनुपर्ने बताउनु भयो । उहाँले सरकार र सरकारी कार्यालय सबैको साझा भएकोले सबैको सद्भाव हुने किसिमले काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिनुभयो । गृहमन्त्री खाँडले सरकारले गरेका काममा सुझाव र प्रतिक्रिया दिने काम कर्मचारीहरुको भएकोले जनताको माग बुझेर सरकारलाई दबाव दिन पनि आग्रह गर्नुभयो ।

गृहमन्त्री खाँणले भन्नुभयो, ‘हामीले गरेका निर्णयहरुमा तपाईहरुले सल्लाह दिने, सुझाव दिने दायित्व तपाईहरुको नै हो । तपाईहरुको सल्लाह, सुझावलाई गृहमन्त्रालय स्वागतको रुपमा लिन्छ । गृहमन्त्रालयमा रहेका सबै कर्मचारी संगठनप्रति हाम्रो सद्भाव छ । गृहमन्त्रालय सबैको साझा मन्त्रालय हो । कतिपय संगठनका साथीहरुसँग हाम्रो वैचाकिर निकटता पनि होला । कतिपयसँग सामाजिक सम्बन्ध बढ्ता होला । संवेदनशील रुपमा पनि होला । तथापी राज्य, सरकार, मन्त्रालय सबैको साझा हो । त्यही रुपमा नै आफूलाई अघि लैजानुपर्छ । मेरो आग्रह के छ भने कतिपय यस्ता संस्थाहरु छन्, सद्भाव सबैका लागि हुनुपर्दछ भन्ने मेरो आग्रह छ । कर्मचारी संगठन युनियन पनि कमन युनियन जस्तै हो । सबैको साझा युनियन हो । सरकारले सुविधा दिएन, सरकार जनताप्रति उत्तरदायी हुन सकेन भने त्यसमा तपाईहरुले सरकारलाई घच्घच्याउने कतिपय सन्दर्भमा माग राख्ने, कतिपय सन्दर्भमा सरकारलाई दबाव पनि दिने,तपाईहरुको दायित्व हो । यदि सरकारले कुनै निर्णय ग¥यो भने सबै काम सेवाका लागि हुने हो । त्यसका लागि सामूहिक भुमिका तपाईहरुले निर्वाह गर्नुपर्छ ।’

सरकारले कर्मचारी र कर्मचारीले सरकारलाई गालीगलौज गरेर मात्रै देशको विकास नहुने भन्दै भएका समस्याको समाधान गरेर अघि बढ्नु पर्ने बताउनु भयो ।