काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरूले पछिल्लो समय सहकारीले ऐन विपरीत बढाएको ब्याजदर घटाउनु पर्ने बताउनुभएको छ । शुक्रबार नेपाल सहकारी पत्रकार समाजको ११औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सहकारीहरूले पछिल्लो समय सहकारी ऐन विपरीत ब्याजदर बढाएकाले सहकारीको मूल मर्मअनुसार जाने हो भने ब्याजदर घटाउनु पर्ने बताउनुभएको हो ।

उहाँले सहकारीको ब्याजदर घट्दा घट्ने र बढ्दा बढ्ने भन्दा पनि नेपालमा बढ्दा बढाउने तर घट्दा नघट्ने प्रचलन रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले अहिलेको अवस्थामा ब्याजदर बढाउने नभई सहकारीलाई परेको समस्या अन्य माध्यमबाट समाधान गर्नु पर्ने बताउनुभयो । उहाँले सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने भएकाले तत्लो तहका जनताले सेवा पाउने गरी सहकारीहरूले काम गर्नुपर्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले सरकारले सहकारीलाई राष्ट्रहित र जनहितका आधारमा सहकारी नीनि बनाउने गरी भिजन पेपर तयार भइरहेको बताउनुभयो । उहाँले पछिल्लो समय सहकारीहरू वित्तीय सुशासनभन्दा बाहिर गएर तथा सहकारी ऐन भन्दा विपरीत काम गरेकाले जनतासामु विश्वास गुमाउँदै गएको समेत उल्लेख गर्नुभयो । उहाँले सहकारीहरूले लगानी गर्ने भन्दा पनि बचत तथा ऋणमा बढी हुने गरेको र सहकारीको सिद्धान्त अनुसार नचलेको समेत बताउनुभयो ।