काठमाडौं – सत्तारुढ दल पाँचदलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसदलाई सुचारु गराउन पहल गर्ने भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले निरन्तर नाराबाजी गर्दा संसद बैठक प्रभावित हुँदै आएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा आज शुक्रबार बसेको बैठकले अवरुद्ध संसदलाई सुचारु गराउनका निम्ति पहल गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयबारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद अवरुद्ध हुनु कुनै पनि हिसाबले उचित नभएकाले समितिले संसद सुचारु गराउन पहल गर्ने भएको बताउनुभयो । उहाँले संसद सुचारु गर्न सरकारको जति नै भूमिका र कर्तव्य प्रतिपक्षको पनि हुने औंल्याउनुभयो । उहाँका अनुसार बैठक राष्ट्रियसभा सदस्य निर्वाचनको सम्बन्धमा केन्द्रित भएको थियो ।

मन्त्री कार्कीले भन्नुभयो, ‘संसद लामो समयदेखि अवरुद्ध छ । यसरी संसद अवरुद्ध हुनु हरेक हिसाबले उचित होइन । त्यसैले संसदलाई सुचारु गर्नेबारेमा पनि छलफल भएको छ’। ‘संसद सुचारु गर्नु सरकारको जति कर्तव्य छ, प्रतिपक्षको पनि त्यत्तिकै भूमिका र कर्तव्य रहन्छ । त्यसैले संसदलाई सुचारु गर्नका निम्ति पहल गर्ने निर्णय भएको छ ।’

संसद सुचारु गर्ने सम्बन्धमा समितिका संयोजक सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलले बुधबार प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको थियो । पौडेल ओलीसँग भेटवार्ताका लागि बालकोट जानुभएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री कार्कीले राष्ट्रियसभा निर्वाचनको निम्ति गठबन्धनले समिति बनाएको र समितिले काम सुचारु गर्ने पनि बताउनुभएको छ ।