काठमाडौं – पर्वतमा निर्माण गरिएको सुपरम्यान शैलीको जीपलाइन भोलिदेखि व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ । जीपलाइनको सबैजसो काम पूरा भएपछि २४ पुसदेखि व्यावसायिक प्रयोजनका लागि खुल्ला गरिन लागिएको हो । केही दिनयता जीपलाइनको लगातार परीक्षण सकेर नियमित सञ्चालनमा ल्याइएको जीपलाइन सञ्चालक समितिका प्रमुख संरक्षक रामचन्द्र जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार व्यावसायिकरूपमा सञ्चालन गरिएसँगै हिजोदेखि टिकट बुकिङ खुल्ला गरिएको छ ।

अहिले प्रतिव्यक्ति तीन हजार ५०० रुपैयाँ टिकट दर तोकिएको छ । नयाँ वर्ष २०२२ को पहिलो दिन प्राविधिक उपकरण जडान भए पनि सबै परीक्षण नसकिएकाले सञ्चालन हुन नसकेको उहाँले बताउनुभयो । जीपलाइनको व्यावसायिक सञ्चालनसँगै रिसोर्ट पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । कुस्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जिपलाइन यो क्षेत्रको पर्यटक प्रवर्द्धनको आयाम बन्ने लगानीकर्ताको दाबी छ । जीपलाइनमा दुई जनाले सँगै बग्न सकिने र ६० देखि ९० सेकेण्डमै गन्तव्यमा पुगिनेछ ।

जीपलाइन भारतको श्याम जीपलाइनले निर्माण गरेको हो । जीपलाइन सञ्चालक समितिका अध्यक्ष विदुर पौडेलका अनुसार हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जीपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा १ सय ३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने गर्दछ । कालीगण्डकी नदीको सतहबाट २ सय ३८ मिटरको उचाइबाट यात्रा सुरु हुनेछ भने त्यसको अवतरण कालीगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ । सुपरम्यान शैलीमा पर्वतको जीपलाइन विश्वकै दोस्रो लामो भएको पनि पौडेलले बताउनुभयो । यही शैलीमा विश्वको सबैभन्दा लामो दुई हजार ८०० मिटरको जीपलाइन दुबईमा छ । हाईड्रोलिक पिङ जीपलाइनसँगै सञ्चालन हुने पनि उहाँले जानकारी दिनुभयो । रासस