जनकपुरधाम – भारतबाट नेपालतर्फ आउँदै गर्दा मोटरसाइकलको टयाङ्कीभित्र ३८ लाख रुपैयाँ लुकाएर ल्याउँदै गरेका एक युवकलाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको लक्ष्मिनियाँ गाउँपालिका १ का २३ बर्षीय अमितकुमार यादव रहेका छन् ।

यादव चढेको प्रदेश २–०२००१ प ०४७७ नम्बरको मोटरसाइकल धनुषाको नगराइन नगरपालिकास्थित जटहीमा चेकजाँच गर्दा टयाङ्कीभित्र ३८ लाख ३५ हजार नेपाली रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । मोटरसाइकलको टयाङ्कीमा बिर्काेको सट्टा नटबोल्ट लगाएको देखेपछि प्रहरीले सङ्का लागेर खोलेर हेर्दा ठूलो परिणाममा उक्त रकम भेटेको हो ।

पक्राउ परेका यादव हुण्डी कारोबारी रहेको प्रारम्भिक अनुमान गरिएको छ । उनलाई अन्य अनुसन्धानका निम्ति नेपाल प्रहरीको जिम्मा लगाउने सशस्त्र प्रहरीले जनाएको छ ।