काठमाडौं – गठबन्धनका शीर्ष नेताहरुबीच बसेको बैठकले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । सत्तारुढ दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्री निवासमा बसेको गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव वेदुराम भुसालका अनुसार राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । ‘सत्ता गठबन्धनमा सहभागी पाँच दलीय गठबन्धनलाई राष्ट्रियसभा निर्वाचनमा प्रभावकारी बनाउने निर्णय भएको छ ।’ आगामी माघ १२ गते १९ सिटका लागि हुन गइरहेको राष्ट्रियसभा निर्वाचनको सम्बन्धमा पनि सत्ता गठबन्धनलाई प्रभावकारी बनाउने विषयमा गम्भीर छलफलपछि यस्तो निर्णय भएको भुसालको भनाइ छ । बैठकले राष्ट्रियसभा चुनावमा आफ्ना उम्मेदवार जिताउन सातै प्रदेशमा संयन्त्र बनाउने निर्णय गरेको हो ।

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलले तालमेल गरेका छन् । जसमा नेपाली काङ्ग्रेसका ६, माओवादी र एकीकृत समाजवादीका ५–५ , जसपाका २ र जनमोर्चाकाबाट १ सिटमा उम्मेदवार उठाएका छन् । सबै उम्मेदवारलाई जिताउने गरी सत्ता गठबन्धनले रणनीति बनाएर जाने निष्कर्ष निकालेको नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव भुसालको भनाइ छ । भुसालका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको हुन गइरहेको भारत भ्रमणको विषयमा पनि छलफल भएको छ । बैठकमा प्रधानमन्त्री देउवासहित सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सत्ता गठन्धनका दलका शीर्ष नेताहरुको सहभागीता रहेको थियो ।