काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आजबाट शनिबारसम्म देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । मङ्गलवार रातीदेखि पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

शनिबारसम्म यो प्रणाली देशभर फैलिएर मुख्यतः सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
ब्नबलष् न्चयगउ

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी तथा तराई भेगका केही र प्रदेश १ र २ का एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने विभागले जनाएको छ । यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि विभागले भनेको छ ।

यसैबीच, आज दिउँसो देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ । र, यी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । आजराति देशभर सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ । यी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।