काठमाडौं – विवेकशील साझा पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन माग गरेको छ । विदेशमा विशिष्ट महत्त्वको दिनमा राष्ट्रिय दिवस मनाइने प्रचलन रहेको उल्लेख गर्दै विवेकशील साझाले नेपालमा पनि पृथ्वी जयन्तीलाई नेपाल दिवस घोषणा गर्न माग गरेको हो । प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा ‘राष्ट्रिय एकता दिवसका दिन नेपाल दिवस घोषणा गरी सार्वजनिक बिदा दिइयोस्,’ भनी उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ – “संसारका अधिकांश देशहरूमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गर्दछ, जुन स्थायी हुन्छ । नेपालका हकमा हाम्रो निश्चित राष्ट्रिय दिवस छैन । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’का लागि सबैभन्दा उपयुक्त दिन हुनसक्छ भन्ने हाम्रो धारणा हो ।” संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित नहुने भन्दै विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त नहुने साझा पार्र्टीको धारणा छ । उक्त दिन सार्वजनिक बिदा दिने सम्बन्धमा पार्टीले विगतमा गरेको मागलाई पनि पुनः दोहो¥याइएको छ । “अनावश्यक रूपमा अनेकौँ बिदाहरू दिएर राष्ट्रिय एकता दिवसमा दिइने सार्वजनिक बिदा कटौती गर्नु अत्यन्तै खेदजनक विषय हो,” विज्ञप्तिमा भनिएको छ ।

यस्तै, नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्वीर अङ्कित गर्न र हरेक सरकारी कार्यालयमा स–सम्मान उनको तस्बिर राख्न निर्देशन दिइयोस् भन्ने माग पनि दोहो¥याइएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर विवेकशील साझाले यही पुस २७ गतेदेखि ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ को घोषणा समेत गरेको छ ।