ललितपुर– आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ । ललितपुरमा सोमबार बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

पार्टीलाई समाजवादी क्रान्तिमा अघि बढाउन प्रचण्डकै नेतृत्व अपरिहार्य रहेको भन्दै नेता नारायणकाजी श्रेष्ठले नाम प्रस्ताव गरेका थिए । प्रचण्डकै नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा निर्वाचन र सङ्घीयता तथा गणतन्त्रसहितको संविधान निर्माण भएको भन्दै नेता श्रेष्ठले प्रचण्डकै नेतृत्वमा अब बाँकी कार्यभार पूरा गर्ने सङ्कल्प गर्नुपर्नेमा जोड दिए । श्रेष्ठले राखेको प्रस्तावलाई केन्द्रीय समितिको बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।

अध्यक्ष प्रचण्डको नेतृत्व सफल कि असफल भन्ने पनि प्रश्न उठेको छ । प्रचण्डको विरोध गर्ने, सुझाव दिनेलाई भन्दा आफ्ना वरीपरी घुम्ने र चाकडी गर्नेहरुको कोटरीमा रमाउँदा प्रचण्डले आफ्नो शक्ति क्षयीकरण गएको पत्तो पाएका छैनन् । हिजो उनीसँगै युद्धमा होमिएका इमान्दार नेता कार्यकर्ताहरु पाखा लागेका छन् । पार्टी परित्याग गरेका छन् । माओवादी पार्टीको विचार, कार्यदिशा र कार्यनीतिमा खिया लागिसकेको छ ।

अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै नवनिर्वाचि अध्यक्ष प्रचण्डले आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय समितिका सबै सदस्यलाई धन्यवाद दिंदै ‘यति लामो समय, यति धेरै राजनीतिक घटनाक्रम र उतारचढावबाट गुज्रिएर अहिलेसम्म सक्रिय राजनीतिमा कायमै रहँदा भिन्न भूमिकामा जानु पर्दैन र भन्ने लाग्छ’ भनेका थिए ।

तर देशलाई एउटा राजनीतिक बिन्दुमा लैजाने आवश्यकता, पार्टीलाई अझै सुदृढ गर्ने आवश्यकता महसुस गर्दा आफू अझै केही समय सक्रिय हुनुपर्ने बाध्यता रहेको जिकिर समेत गरेका थिए । कतिपयले ‘प्रचण्ड नभए यो पार्टी के होला ?’ भन्ने प्रश्न गर्ने गरेको उल्लेख गर्दै उनले यो प्रश्न नै गलत रहेको बताए । माओवादी एउटा विचार रहेको र यो विचार कुनै व्यक्तिसँग नभई सिङ्गो कम्युनिस्ट आन्दोलनको इतिहाससँग जोडिएको नवनिर्वाचित अध्यक्ष प्रचण्डको भनाइ थियो ।