फाइल तस्वीर
काठमाडौं — पाँचदलीय सत्ता गठबन्धन दलहरुको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा अहिले बिहान ९ बजे बैठक बस्न लागेको हो ।

बैठक आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा पाँचदलीय सत्तागठबन्धनका दलहरू कसरी अगाडि बढ्ने भन्ने विषय छलफल गर्ने नै मुख्य एजेण्डा रहेको छ । राष्ट्रियसभाको रिक्त १९ पदमध्ये कसले कति सिट पाउने भन्ने विषयमा छलफल केन्द्रीत हुने बताइएको छ । उक्त बैठकमा अमेरिकी परियोजना एमसीसी र एमालेको संसद् अवरोधको बारेमा छलफल हुने बताइएको छ ।

माघ दोस्रो साता हुने रिक्त राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि भोलि मङ्गलबार उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेकोछ । २१ गते उम्मेदवारीमा दाबी विरोध, २२ र २३ गते उजुरीमाथि जाँचपडताल, २४ गते उम्मेदवारले नाम फिर्ता र २५ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका निर्वाचन आयोगले बनाएको छ ।