काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक सकिएको छ । आगामी कार्यकालका लागि पार्टीको केन्द्रीय सदस्यको नाम टुङ्गो लगाउन सो बैठक बसेको थियो । यससँगै जारी महाधिवेशनमा बन्दसत्र सुरु भएको छ । यसअघि केन्द्रीय समितिमा रहने सदस्यहरु र पदाधिकारीहरुको नाम टुङ्गो लगाउन नसक्दा स्थायी समिति बैठक लम्बिएको थियो । जसका कारण बन्दसत्र स्थगित गरिएको थियो । स्थायी समिति बैठकबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बन्दसत्र हलमा प्रवेश गर्नुभएको छ ।

आज आइतबार दिउँसो १ बजे पदाधिकारीसहित केन्द्रीय समिति घोषणा गर्ने तयारी भए पनि सहमति जुटाउन ढिला भएकोले माओवादीले सहमति जुटाउने कोसिसमा लागिरहँदा निर्वाचन समितिले दोस्रो पटक निर्वाचन कार्यतालिका संशोधन गरेको हो । माओवादी नेतृत्वले सहमतिमै नेतृत्व चयनका लागि प्रयास गरिरहेपछि आज आइतबार दिउँसो २ बजेदेखि हुने भनिएको निर्वाचन कार्यतालिकालाई २ घण्टा पर सारिएको थियो । यदि सहमति अनुसार केन्द्रीय समिति घोषणा नभएमा दोस्रो पटक आइतबार अपराह्न चार बजेसम्मका लागि सारिएको निर्वाचन कार्यतालिका अनुसार प्रक्रिया अघि बढ्नेछ ।

तर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको केहीबेरमा बन्द सत्र हलमा सहमतिको केन्द्रीय समिति घोषणा गर्ने कार्यक्रम रहेको छ । माओवादी पार्टी केन्द्रीय कमिटी सदस्यको नाममा सहमति जुटेको जनाइएको छ । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा रहने सदस्यको नाममा सहमति जुटाएको बताइएको छ ।