काठमाडौं – नेकपा (माओवादी केन्द्र) को समानुपातिक तर्फ केन्द्रीय सदस्य सहमतिबाटै चयन हुने भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी आठौं राष्ट्रिय महाधिवेशनले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । जसमध्ये १ सय ४५ जना खुलातर्फबाट र १ सय ५४ समानुपातिक पद्धतिबाट चयन हुनेछन् । समानुपातिकतर्फ ८ वटा क्लस्टर छुट्याइएको छ ।

स्रोतका अनुसार समानुपातिकतर्फ सहमतिबाटै केन्द्रीय सदस्यहरु टुङ्गो लगाइनेछ, र यसका लागि निर्वाचन हुने छैन । सात प्रदेशलाई हरेक क्लस्टरमा संख्या तोकेर केन्द्रीय सदस्य दिन भनिएको थियो । त्यसअनुसार ५ वटा प्रदेशमा सहमति जुटेको बताइएको छ । प्रदेश २ र बागमती प्रदेशमा सहमतिको प्रयास भइरहेको छ । समानुपातिकतर्फ प्रदेश १ बाट २१, प्रदेश २ बाट २५, बागमतीबाट ३०, गण्डकीबाट १४, लुम्बिनीबाट २३, कर्णालीबाट १७, सुदूरपश्चिमबाट १६ र विशेष क्षेत्रबाट ८ जना गरी कुल १ सय ५४ जना चयन हुनेछन् ।

माओवादी केन्द्रले शनिबार नै चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक गरेकोमा संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो । तर, अहिले फेरि अर्को तालिका सार्वजनिक गर्दै दिउँसो ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको हो । नयाँ कार्यतालिका अनुसार मतदान सोमबार बिहान ८ बजेदेखि हुने भएको छ ।