डोटी – जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुवात गरेको छ । पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका सबै विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्या भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई हामीले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छौँ, विद्यार्थीहरू बढी जोखिममा पर्ने भएकाले खोप लगाउन थालिएको हो ।”

प्रायः स्कुले बालबालिका कोरोना जोखिममा पर्ने गरेका र सरकारले सबै विद्यार्थीलाई खोप दिने निर्णय गरेअनुसार उक्त पालिकामा रहेका विद्यार्थीलाई एकैसाथ खोप दिन थालिएको बताइएको छ । हालसम्म तोकिएका उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालय तथा अन्य क्षेत्रमा तोकिएको खोप केन्द्रमा गएर खोप लगाउनुपर्ने व्यवस्था मिलाइएको गाउँपालिका स्वास्थ्य संयोजक गोविन्द विष्टले जानकारी दिनुभयो ।

विद्यार्थीलाई खोप लगाउने अभियान सुरु भएपछि विद्यार्थी पनि खुशी साथ खोप लगाउन आउन थालेका नवोदय मावि गड्सेरामा प्राचार्य फणेन्द्र खडायतले बताउनुभयो । रासस