काठमाडौं – विज्ञान प्रविधिका क्षेत्रमा क्रियाशील राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंलाई ‘श्रीपति समाजसेवा पुरस्कार–२०७८’ बाट पुरस्कृत गरिएको छ । पुरस्कारको राशि दुई लाख २२ हजार २ सय २२ रहेको छ । पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार संस्थाको २९औँ वार्षिक साधारणसभाका अवसरमा आज केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा.जगमान गुरुङले पुरस्कार प्रदान गर्नुभयो ।

उपकुलपति गुरुङले व्यक्ति मर्यादित भए समुदाय मर्यादित हुने र समुदाय मर्यादित भए राष्ट्र मर्यादित हुने बताउनुभयो । श्रीपति कोइराला गुठीले धर्म, संस्कार र संस्कृति संरक्षणमा खेलेको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो । सम्मानित संस्था आविष्कार केन्द्रका प्रमुख पुनले देशको अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सबै नेपालीले सिर्जनशीलतामा जोड दिनुपर्ने र प्रविधिको विकासका लागि अनुसन्धानमूलक कार्यलाई प्राथमिकता दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

केन्द्रको उद्देश्य प्रतिभा खोजेर अनुसन्धानमार्फत सिर्जना गर्ने र सिर्जनालाई उत्पादनसँग जोडेर देशमा समृद्धि ल्याउने रहेको स्पष्ट पार्नुभयो । सो अवसरमा विद्यार्थी र विभिन्न समाजसेवीहरूलाई श्रीपति शिक्षा पुरस्कार र श्रीपति विद्या पदकद्वारा विभूषित गरिएको संस्थाका अध्यक्ष लक्ष्मण कोइरालाले जानकारी दिनुभएको थियो ।

नेपालभर मानवीय एवं स्वयंसेवी भावनाबाट अभिप्रेरित भई समाजमा मानवीय विपद्मा उद्धार र राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण र सामुदायिक विकासका क्षेत्रमा विशेष सेवा गर्ने व्यक्ति वा संस्थाहरू मध्यबाट पुरस्कार छनोट नियमावलीका आधारमा छनोट समितिको सिफारिसमा पुरस्कार प्रदान गरिँदै आइएको सो संस्थाले जनाएको छ ।

वि.सं १८६४ असार २७ गते पोखरा–४ गैहपाटनमा जन्मिएका श्रीपतिले विसं १८९० मा पोखराको महेन्द्रपुल र विसं १८९९ मा पर्वतको काली नदी किनार मडीकुवामा जग्गा खरिद गरी गुठी स्थापना गर्नुभएको थियो । स्थापित दुवै गुठीलाई उहाँका सन्तानबाट निरन्तर समाजसेवाका गतिविधिमार्फत सञ्चालन भइरहेका छन् । रासस