काठमाडौं – नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया आज दिउँसो सुरु हँुदैछ । सर्वसम्मतिमै नेतृत्व चयन गर्ने प्रयास गर्ने भन्दै माओवादी केन्द्रले शनिबार तय भएको निर्वाचन कार्यक्रम स्थगन गरेको थियो । निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले आज दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता र ३ः४० मा उम्मेदवारको मनोनयन पत्रको दर्ता सूची प्रकाशन गरिने जानकारी दिनुभयो ।

यसै गरी उम्मेदवारको विरोधमा उजुरी दिने समय ४ बजेका लागि तय गरिएको छ । उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना दिनका लागि ४ः१० बजेसम्मको समय दिइएको छ । श्रेष्ठका अनुसार उजुरीमाथि छानबिन गरी ४ः४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी फिर्ताका लागि ५ः३० बजेसम्मको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली ५ः४५ बजे प्रकाशन गरिनेछ । आयोगका अनुसार आज आइतबार साँझ ६ः२५ बजेदेखि १०ः२५ सम्म निर्वाचनका लागि समय निर्धारण गरिएको छ ।

निर्वाचनमा १ हजार ७ सय ४२ जना प्रतिनिधिहरुले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । माओवादी केन्द्रको अध्यक्षमा भने पुष्पकमल दाहाल सर्वसम्मत चयन हुने पक्कापक्की देखिएको छ भने वरिष्ठ उपाध्याक्षमा नारायणकाजी श्रेष्ठ,उपाध्यक्षहरु कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुषाल, हरिबोल गजुरेल र मातृका यादव, गणेश शाह, परशुराम तमाङ, लगायतका नेताहरुको सम्भावना रहेकोबुझिएको छ ।

यसै गरी महासचिवमा जनार्दशन शर्मा र वर्षमान पुनको दाबी रहेका कारण अध्यक्ष दाहाललाई दुई नेताको व्यवस्थापनमा सकस परेको छ । उपाध्यक्षमा व्यवस्थापन गर्न नसकिएका केही नेताहरु मध्ये एकले कोषाध्यक्षको र अन्यले उपमहासचिवको भूमिका पाउने भएका छन् । समावेशितालाई पनि ध्यान दिनुपर्ने कारण गणेश साह, परशुराम तमाङलाई पनि पदाधिकारीमा समेट्नु पर्ने दबाब अध्यक्ष प्रचण्डमाथि आइपरेको छ । सचिवमा देवेन्द्र पौडेल, शक्ति बस्नेत, हितमान शाक्य लगायतका नेताहरुको बारेमा छलफल भइरहेको छ ।