काठमाडौं— नेकपा माओवादी केन्द्रले जारी आठौं राष्ट्रिय महाधिवेशनबाट १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति विना निर्वाचन सहमतिमै चयन गर्ने प्रयत्न भैरहेको छ । माओवादी केन्द्रले सबै पदमा सहमति जुटाएर पार्टी एक ढिक्का भएको सन्देश दिन प्रयास गरिरहेको हो । आइतबार सबै पदमा सहमति जुटाएर दिउँसो १ बजेदेखि महाधिवेशनको बन्दसत्र सुरु गर्ने र सहमतिका आधारमा पदाधिकारी र केन्द्रीय समस्यहरुको नाम घोषणा गर्ने छ । शनिबार साँझ बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिका लागि सहमति जुटेको भन्दै आइतबार १ बजेसम्मका लागि बन्दसत्र स्थगित गर्न गरेको प्रस्ताव हलले अनुमोदन गरेको थियो ।

केन्द्रीय समितिका लागि भूगोल सात र एक विशेष प्रदेश गरी आठवटै प्रदेशबाट केन्द्रीय कमिटी सदस्यका लागि क्लस्टर अनुसारका नाम सिफारिस भैसकेका छन् । केन्द्रीय कमिटीमा सहमति जुटेपछि माओवादीले केन्द्रीय पदाधिकारी पनि हलबाटै घोषणा गर्ने गरी तयारी गरेको छ ।

आइतबार बिहान ११ बजेसम्म केन्द्रीय पदाधिकारीका लागि सहमति जुटाउने र १ बजे सुरु हुने बन्दसत्रमा केन्द्रीय कमिटीको नाम पहिला घोषणा गर्ने त्यसपछि पदाधिकारी घोषणा गर्ने तयारीे छ । नेकपा माओवादी केन्द्रले अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष १ गरी १५ सदस्यीय पदाधिकारी रहने विधान पारित गरेको छ । त्यस्तै कुल केन्द्रीय कमिटी सदस्यमध्ये ५० प्रतिशत खुल्ला र ५० प्रतिशत समावेशी बनाउने गरी निर्वाचित गर्ने व्यवस्था समेत संशोधित विधानले व्यवस्था गरेको छ । जसमा खुलातर्फ १४५ जना हुने भने समानुपातिकतर्फ क्लस्टर अनुसार १५४ जना निर्वाचित हुनेछन् ।