काठमाडौं — नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य हरेको छ । हाल देशका एक नम्बर प्रदेश र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।

पश्चिमी वायुको प्रभावका कारण चार दिन मौसममा आएको परिवर्तनले देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा र हिमाली पहाडी क्षेत्रमा हिमपात भएको थियो । शुक्रबारबाट मौसममा पश्चिमी वायुको प्रभाव कम हुँदै गएको छ । आइतबार देशभर आंशिक बदली रहनेछ । दुई नम्बर प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार पनि देशभर आंशिक बदलीको रहने छ। मङ्गलबार सुदूर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ । चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाईअनुरोध गरेको छ ।