काठमाडौं– गत आइतबार पुष ११ गतेदेखि राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनबाट नेतृत्वसमेत केन्द्रीय सदस्यहरु निर्वाचित गर्ने कार्यक्रम मध्यरातमा रोकिएको छ । सहमति खोज्ने भन्दै मध्यरातमा स्थगति भएको निर्वाचन आज दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

पार्टीको आगामी मुल नेतृत्वमा कुनै विवाद नभए पनि पदाधिकारी र केन्द्रीय सदस्यहरुका बारेमा केही मतभेद उत्पन्न भएपछि आज १ बजेसम्मका लागि बन्दसत्र स्थगित भएको एक प्रतिनिधिले बताएका छन् । माओवादी केन्द्रले पदाधिकारी र प्रदेशहरुबाट चुनिने केन्द्रीय सदस्यहरुको नाम प्रदेश समितिहरुबाटै आएपछि मात्रै बन्दसत्र सुरु गर्ने अध्यक्ष मण्डलका एक सदस्यले जानकारी दिएका छन् ।


शनिबार नै माओवादी निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गर्नुका साथै उम्मेदवारी दर्ता र मतदानसम्मका कार्यतालिका सार्वजनिक गरेको थियो । आठ दिनसम्म जारी आठौं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयन गर्ने गरी निर्वाचन आयोगले हिजो निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरेको थियो । केन्द्रीय सदस्यमा सहमति नजुटेपछि हिजै हतार हतारमा निर्वाचनको कार्यक्रम सार्वजनिक भएको थियो । तर पनि केन्द्रीय सदस्यहरु निर्विरोध चयन गर्ने प्रयास मध्यरातमा असफल भएपछि पुनः सहमतिबाटै केन्द्रीय सदस्यहरु छान्नका लागि आज सहमतिको प्रयास गर्ने भएकाले निर्वाचन कार्यक्रम स्थगित गरिएको महाधिवेशनको अध्यक्ष मण्डलका एक सदस्यले बताए ।


आज दिउँसोबाट सुरु हुने बन्दसत्रमा सहमतिकै आधारमा केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गर्ने तयारी माओवादी केन्द्रले गरेको छ । आठ दिनदेखि जारी माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आज सम्पन्न हुने बताइएको छ ।