काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले क्लस्टरको आधारमा निर्वाचित हुने केन्द्रीय समितिका सदस्यको सङ्ख्या सार्वजनिक गरेको छ । निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले शनिबार साँझ सार्वजनिक गर्नुभएको निर्वाचनसम्बन्धी सूचनामा खुला र समानुपातिकतर्फबाट निर्वाचित हुने सदस्यहरुको सङ्ख्या उल्लेख गरिएको छ ।

सूचना अनुसार खुल्लातर्फ १४५ जना निर्वाचित हुने छन् भने समानुपातिकतर्फ ४५ खस आर्य निर्वाचित हुनेछन् । यसमा पुरुष १२, युवा पुरुष ३, महिला २४ र महिला युवा ६ जना रहनेछन् । त्यस्तै समानुपतिककै दलिततर्फ २२ जना निर्वाचित हुनेमा पुरुष ६, युवा पुरुष १ महिला १२ र महिला युवा ३ जना निर्वाचित हुनेछन् ।

त्यसैगरी मुस्लिमतर्फ ७ जना, मधेसीतर्फ २३ जना, आदिवासी जनजातीतर्फ ४३ जना, थारुतर्फ १० जना, अपाङ्गतर्फ २ र पिछडिएको क्षेत्रबाट २ जना निर्वाचित हुनेछन् । यो सवै गर्दा खुलातर्फ १४५ र समावेशीतर्फ १५४ हुन्छ । सवै गर्दा माओवादीको केन्द्रीय समितिको आकार २९९ सदस्यीय हुने छ ।

माओवादी केन्द्रले विधान संशोधन गर्दै ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी समेटेर केन्द्रीय केन्द्रीय समिति बनाउने जनाएको छ । सवै पदमा सहमति नभए निर्वाचनका माध्यमबाट केन्द्रीय सदस्यको निर्वाचित हुनेछन् ।