काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन समितिले शनिबार अपरान्ह सार्वजनिक गरेको कार्यक्रम अनुसार उम्मेदवारी दर्ताको समय राति ८ बजेदेखि ८ः३० बजेसम्म जम्मा आधा घण्टाको समय तोकेको छ ।
फास्टट्य्राक विधि अपनाएर निर्वाचन गर्न खोजिएको कार्यक्रम अनुसार राति ८ ः ३५ सम्म उम्मेदवारको विरोधमा उजुरीको सूचना दिने, ८ः ४० देखि ९ बजेसम्म उजुरीमाथि छानबिन र निर्णय गर्ने, ९ः१० बजे उम्मेदवारको नामावली पुनः प्रकाशित गर्ने, ९ः ३० देखि ११ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठद्वारा सार्वजनिक गरिएको निर्वाचन कार्यक्रम अनुसार राति ११ ः १५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र राति ११ः ३० देखि आइतबार बिहान ४ बजेसम्म मतदानको समय तोकिएको छ ।