फाइल तस्वीर
काठमाडौं – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल लगायत १० जनालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ । काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए अनुसार प्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मासमेत १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको हो ।

काङ्ग्रेसको विधानले व्यवस्था गरेअनुसार पार्टी सभापतिले ३३ जना व्यक्तिलाई केन्द्रीय सदस्यमा मनोनित गर्न पाउने अधिकार प्रयोग गर्दै सभापति देउवाले १० जनालाई मनोनित गर्नुभएको हो । सिंह र निधिले काङ्ग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएर पराजित भएका हुन् । सिंह र निधिले सभापतिको दोस्रो चरणको मतदानमा देउवालाई सभापतिमा समर्थन गरेका थिए । यसैगरी गच्छदार र कोइराला उपसभापतिमा तथा महत महामन्त्रीमा पराजित भएका थिए । पौडेल, सिटौला, खड्का, रेग्मी र विश्वकर्माले १४ औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन् ।