काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को जारी आठौं राष्ट्रिय महाधिवेशनले विधान पारित भएको छ । स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि शनिबार जवाफ दिएलगत्तै विधान पारित भएको हो । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको बन्द सत्रमा नेता गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएपछि विधान पास भएको हो ।

विधान संशोधनका सन्दर्भमा प्राप्त भएका सुझावहरुलाई समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय कमिटीले अन्तिम रुप दिने गरी विधान मस्यौदा पारित गर्न नेता गुरुङले बन्दसत्रमा आग्रह गर्नुभएको थियो । महाधिवेशनको बन्दसत्र हलले सर्वसम्मतिले पार्टीको विधान पारित गरेको हो । विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ ।

महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ । ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ । केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ ।