फाइल तस्वीर
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन आज सम्पन्न हुने भएको छ । पार्टीको महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्ने छ, त्यसपछि महाधिवेशनको अन्त्य हुने छ । स्थायी समितिका सदस्य देवप्रसाद गुरुङले आजको बन्दसत्रमा विधान संशोधनमाथि उठेका प्रश्नहरुको जवाफ दिएर विधान पास भएपछि नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ । जनवादी केन्द्रीयतालाई ध्यान दिंदै माओवादीले सहमतिमा नेतृत्व चयन गर्ने भएको छ ।

शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित गर्न समय अपुग भएको हुँदा आज विधान संशोधनलाई परिर्माजन गरेर पास गर्ने भएको छ । विधानमा माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ ।

नेकपा (माओवादी केन्द्र) ले पार्टीलाई बहुपदीय प्रणालीमा लैजान लागेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ । पार्टीको आगामी नेतृत्व पनि पुष्पकमल दाहाल प्रचण्डले नै गर्ने निश्चित प्रायः छ । अध्यक्ष पदमा कसैले पनि दावी नगरेकाले प्रचण्ड नै पार्टीको अध्यक्ष बन्नुहुने भएको छ । यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ । महासचिवमा पनि विभिन्न नेताहरूले दावी गरेका छन् । यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ ।

विधान पारित भएपछि निर्वाचनको काम अगाडि बढ्ने निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार विधान पारित भएपछि निर्वाचनको प्रक्रिया शुरु हुन्छ । पुस ११ गतेदेखि राजधानीमा सुरु भएको माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन एक हप्तापछि आज सकिन लागेको हो । माओवादी केन्द्रले आगामी तीनै तहको निर्वाचन पछि विशेष महाधिवेशन गर्ने बताएको छ ।