फाइल तस्वीर
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को जारी आठौं राष्ट्रिय महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्ने भएको छ । आइतबारदेखि सुरु भएको राष्ट्रिय महाधिवेशनले आज नेतृत्व चयन गर्ने भएको हो ।

छ दिनदेखि जारी महाधिवेशनमा शुक्रबार नेतृत्व चयन गर्ने कार्यक्रम रहेपनि त्यस अघि आजै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समूहगत छलफलबाट आएको टिप्पणी र सुझावहरुको जवाफ दिनुहुने कार्यक्रम रहेको छ । । बिहीबार नै प्रचण्डले आफ्नो जवाफसहित राजनीतिक प्रतिवेदनबारे स्पष्ट पार्ने तयारी गर्नुभएको थियो । तर बिहीबार सबै समूहको राजनीति प्रतिवेदनमाथिको उठेका विषयहरु पेश गर्न नभ्याउँदा आज अध्यक्षले जवाफ दिनुहुने कार्यक्रम तय भएको हो । शुक्रबार १ बजे सुरु हुने बन्दसत्रमा बाँकी समूहको प्रस्तुतीकरणपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र त्यसपछि अध्यक्ष र केन्द्रीय समितिको लागि निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधिहरुले पदाधिकारीहरु समेत यही महाधिवेशनबाट चुन्नु पर्नेमा नेतृत्वलाई दवाव दिंदै आएका छन् । अध्यक्ष प्रचण्डले आफ्ना निकटस्थहरुलाई पदाधिकारी बनाउन केन्द्रीय समितिबाट चयन गर्ने रणनीति अख्तियार गर्नु भएको प्रति महाधिवेशनका प्रतिनिधिहरुले असन्तुष्टि व्यक्त गरेका छन् । महाधिवेशनमा प्रस्तावित विधानले माओवादीमा १५ पदाधिकारी रहने व्यवस्था गरेको छ । जसमा अध्यक्ष एक, एकजना वरिष्ठसहित सात उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने विधानले प्रस्ताव गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले पनि महाधिवेशनबाटै सबै पदाधिकारीहरुको चयन गर्नुपर्ने अडान लिँदै आएका छन् । महाधिवेशन भोलि शनिबारसम्म लम्बिन सक्ने देखिएको छ । पार्टी निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले विधान मस्यौदा पारित भएपछि निर्वाचनको सबै कार्यक्रम अगाडि बढाइने बताएका छन् ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन यही पुस ११ गते आइतबार भएको थियो । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक प्रतिवेदन र स्थायी समितिका सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको थियो ।


राजनीतिक प्रतिवेदन र विधानमाथि भएका समूहगत छलफलका निष्कर्षहरु प्रस्तुत भएता पनि अध्यक्षले जवाफ दिने समयलाग्ने भएकाले महाधिवेशन लम्बिन पुगेको छ । आज शुत्रकार अध्यक्षले जवाफ दिने र आएको सुझावहरुलाई राजनीतिक प्रतिवेदनमा समावेश गर्ने छ । शुक्रबारको बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत हुने कार्यक्रम छ । त्यसपछि निर्वाचनको कार्यक्रम अगाडि बढाइने भएको छ ।